इलामः इलाम नगरपालिकाको ११ नम्बर वडामा रहेको बेलासे गाउँलाई जलवायु अनुकूलन गाउँ बनाइने भएको छ । नामसालिड सामुदायिक विकास केन्द्र इलामले बेलासेलाई जलवायु अनुकूलन गाउँ बनाउनका लागि पहल थालेको हो ।
स्थानीय समुदायलाई जलवायु अनुकूलित गाउँ निर्माणसम्बन्धी सचेतना कार्यक्रम बेलासेमा सम्पन्न गरिएको हो । कार्यक्रममा नामसालिड सामुदायिक विकास केन्द्र इलामका टीम लिडर हीराकाजी घले, इञ्जिनियर घनेन्द्र भण्डारी, कार्यक्रम अधिकृत सुबोध निरौलाले परियोजनाको बारेमा जानकारी गराएका हुन् ।
क्यानडा कोषकोे सहयोगमा सुरु गरेको ‘नमुना जलवायु अनुकूलित गाउँमार्फत जलवायु उत्थानशीलता बढाई प्राकृतिक तथा जलवायु परिवर्तन प्रेरित प्रकोपको प्रभाव न्यूनीकरण गर्ने’ परियोजना आठ महिनासम्म सञ्चालन हुने भएको हो ।
झापा इलाम द्रुतमार्गमा पर्ने बेलासे वरपर रहेका ५० घरपरिवार लाभान्वित हुने गरी परियोजना सञ्चालन गरिने भएको हो । परियोजनामार्फत बेलासेको बाँझो जमिन सिंचाइ गरी जलवायु अनुकूलित खेती प्रणाली अवलम्बन गरिने भएको हो । परियोजनामार्फत बाँझो जमिन सिंचाइका लागि माईखोलाको पानी सोलार लिफ्टिङ गरी ल्याइने भएको हो । कुल ६५ लाख ४५ हजार ६३६ रुपियाँ लागतमा सञ्चालन हुने परियोजनामा जलवायु प्रभावको बारेमा सचेतना, जलवायु अनुकूलन खेती प्रणाली र गाउँको योजना निर्माण गरिने भएको हो ।



























































Discussion about this post