म्याग्दी: मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको चार दिनपछि सञ्चालनमा आएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीको अधेरीखोलामा निरन्तर खसेको पहिराका कारण आइतबार बिहानदेखि सडक अवरुद्ध भएको हो । आइतबारदेखि अवरुद्ध भएको उक्त सडक आज दिउँसोदेखि सञ्चालनमा आएको हो ।
वर्षा रोकिएपछि पहिरो पन्छाएर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन गरिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको निर्माण कम्पनीका डोजर, कर्मचारी, मजदुर, नेपाली सेना र प्रहरीको टोली पहिरो पन्छाउने काममा परिचालन भएका थिए ।
सडक अवरुद्ध हुँदा मुस्ताङबाट आएका सवारीसाधन बैसरी, म्याग्दीबाट मुस्ताङतर्फ हिँडेका सवारीसाधन, मुस्ताङ जान र फर्किएका तीर्थयात्री, पर्यटक र स्थानीयवासी अलपत्र परेका थिए । सडक खुलेपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका हुन् ।
भूमिगत पानीका कारण सडक माथिको पाखो बगरे पहिरो खसेको हो । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी–जोमसोम सडकको राहुघाटदेखि भुरुङ्ग तातोपानी खण्डमा रातको समयमा यात्रा नगर्न सूचनामार्फत अनुरोध गरेको छ ।



























































Discussion about this post