पर्वतः सामाजिक वेथिती र कालीगण्डकी दोहन विरुद्ध निरन्तर कलम चलाउदै आएका सामाजिक युवा अभियान्तालाई बोलेकै भरमा पर्वत प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । स्वतन्त्र पत्रकार आरके अदिप्त विरुद्ध सामाजिक सञ्जालमा पर्वतको पत्रकारितामा देखिएका विकृत पक्षको भण्डाफोर गरेपछि पक्राउ पुर्जी जारी गरिएको हो ।
नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियानमा कारवाही परेका केही पत्रकारहरुको समूहले पत्रकार गिरिविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । उनीहरूले विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कार्बाहीको माग गर्दै गिरि विरुद्ध उजुरी दर्ता गराएका हुन् ।
अभियन्ता गिरीले व्यक्तिगत जीवनलाई नै असर पर्ने गरी आपेक्ष लगाएको भन्दै उनीहरुले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी मधुसुधन न्यौपानेले जानकारी दिए । साउन १ गतेदेखि साइबर अपराध पनि जिल्लालाई हेर्ने अधिकार भएको र पहिलो मुद्दा नै पत्रकारमाथि परेको न्यौपानेले बताए । उजुरीका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चात् सोमबार पर्वत जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो ।
पछिल्लो पटक पर्वतको पत्रकारिता क्षेत्रमा देखा परेको विकृतिबारे सामाजिक सञ्जालमा चर्को आलोचना हुँदै आइरहेको छ । स्वतन्त्र फोटोपत्रकार आरके अदिप्त गिरीले पनि सामाजिक सञ्जालमा पत्रकारितामा देखा परेको वेथितीका विरुद्ध निरन्तर प्रश्न गर्दै आइरहेका छन् । पत्रकार गिरीले सामाजिक सञ्जालमा पत्रकारको नाममा देखिएको लाखौ बेरुजु रकम, पत्रिका बजारमा विक्रीवितरण नहुने, पत्रकारको तस्करसँगको मिलेमतो, मिडियाले सामाजिक मुद्धाको उठान गर्न नसकेको, कालीगण्डकी नदीको गैरकानूनी दोहनबारे पत्रकारको मौनता लगायतका कुराहरुको सामाजिक सञ्जाल साथै विभिन्न नागरिक समाजका फोरमहरुमा आवाज बुलन्द गर्दै आएका छन् ।
पत्रकारिता क्षेत्रमा रहेको बेथितीबारे सामाजिक सञ्जालमा गिरी खरो उत्रिदै गर्दा अन्य केही पत्रकार विच टिकाटिप्पणी भएको थियो । पर्वतका पत्रकार स्वार्थमा बिकेको भन्दै गिरीले लेखेको स्टाटसमाथि त्यहाँका पत्रकारहरुले प्रमाणित गर्न प्रश्न गरेका थिए । टिकाटिप्पणीको विषयलाई लिएर पत्रकार गिरी विरुद्ध केही पत्रकारले पर्वत प्रहरीमा साइवर अपराध गरेको भनी उजुरी दिएका हुन् ।
रोचक त के छ भने गिरीका विरुद्ध उजुरी दिने अधिकांश पत्रकारहरु नेपाल पत्रकार महासंघले पत्रकार सदस्यता शुद्धिकरण अभियानको क्रममा कारवाही गरिएका पत्रकारहरु नै छन् । उजुरी गर्ने पत्रकारहरु गणेश पौडेल, छविलाल तिवारी, सन्तोष थापा लगायत हुन् । यी पत्रकारहरुलाई पत्रकार महासंघ गण्डकी प्रदेश समितिले सक्रिय राजनीतिमा लागेको, अन्य संस्थामा जागिर गरेको भनी कारवाही गरी सदस्यताबाट नै हटाइ सकेको छ । गिरीले महालेखा परीक्षण कार्यालयले पर्वतका पत्रकारहरुको नाममा बेरुजु रकम ३५ लाख देखाउनु र राज्यबाट लोककल्याणकारी विज्ञापन वापतको रकम पत्रिकाले असुल्ने तर पत्रिका बजारमा विक्रीवितरण नै नगर्ने भनी पत्रकारिताको विरोध गरेका थिए ।
डेढ दशकदेखि मूलधारको पत्रिका साथै देशीविदेशी मिडियामा स्वतन्त्र लेखन गर्दै आएका गिरी हाल जिल्लामा सामाजिक अभियान्ताको रुपमा समाजमा रहेका हरेक वेथिति र विकृतिका विरुद्ध कलम चलाउदै न्याय, प्रकृति र मानवताको पक्षमा वकालत गर्दै आएका छन् ।
आफूलाई साइवर अपराधमा उजुरी परेपछि उनी भन्छन्, “पत्रकारिता क्षेत्र नै राज्यकोष दोहनको धन्दामा लाग्नु साथै दलाल, तस्कर, विचौलियाको चगुंलमा पत्रकारिता क्षेत्र पर्नु भनेको विडम्वना हो । पर्वतका अधिकांश पत्रकारले जनसरोकारको विषयमा कलम चलाउनु भन्दा तस्कर र विचौलियालाई केन्द्रमा राखेर पत्रिकालाई नै मागी खाने भाडो बनाउनु पत्रकारिता जस्तो मर्यादित र सम्मानित पेशालाई दुर्गन्धित बनाउनु हो ।”
सामाजिक वेथितिका विरुद्ध सामाजिक सन्जालमा केही कुरा बोल्दैमा साइवर अपराधको आरोप लगाई पक्राउ पुर्जी जारी हुनु स्वतन्त्र अभिव्यक्तिका विरुद्ध भएको भनी नागरिक समाजले आपत्ति जनाएका छन् । गिरिविरुद्ध पक्राउ पूर्जी जारि भएको समाचारपश्चात लेखक तथा साहित्यकारहरूले यस कामको चर्को विरोध गरेका छन् ।
“पक्राउने, थुनाउने, मुद्दामामिलामा फसाउने कस्ता मान्छे, कुन वर्गका मान्छे हुन्छ्न् भन्ने थाहा छँदै छ । काली गन्डकी बचाउ अभियानका अभियन्ता Rk Adipta Giri, हिम्मत नहार्नू”, लेखक राजन मुकारुङले समाजिक सञ्जालमा लेखेका छन् ।
“Rk Adipta Giri जीले ‘कालीगण्डकी बचाओैं’ भन्दै अभियान नै चलाउनु भएको छ । पर्यावरण संरक्षणका लागि लामो समयदेखि साहसिक ढंगले लागिरहनु भएको छ । अभियानमा कति लेखक, पत्रकार, बुद्धिजीवी वा विद्वानहरूले सहयोग पनि गर्नु भएको होला, कतिले असहयोग पनि गर्नु भएको होला । भुक्तभोगी भएकोले यस क्रममा उहाँले बेलाबेलामा असन्तुष्टि पोख्नु भएको पनि होला । तर, उहाँको असन्तुष्टि प्रवृत्तिप्रति हो, ब्यक्तिप्रति पक्कै हैन । यस्तोमा पत्रकार मित्रहरूले उजुरी नै दिएर पक्राउ नै गराउनेसम्मको काम गरेको उचित लागेन । अभिव्यक्ति स्वतन्त्रताका हिमायतीबाटै यस्तो व्यवहार हुनु उचित लागेन । शीघ्र रिहाइ होस्”, लेखक नयनराज पाण्डेले समाजिक सञ्जालमा लेखेका छन् ।
“आरके अदीप्त गिरि कालीगण्डकी बचाउ अभियान लगायत साहित्य, कला, सस्कृतिको विकाश र प्रबर्धनमा लागिरहेका समाज सुधारको चिन्ता गर्ने अभियन्ता हुन् । विसंगतिको विरुद्ध लेख्नु र विद्रुपताविरुद्ध व्यङ्ग्य गर्नु उनीजस्ता सबै लेखक/अभियन्ताको धर्म हो । पत्रकारीता पनि यस्तै अभियान नै त हो । अरू ठाउँका विसंगति र विद्रुपता लेख्ने पत्रकार साथीहरूले बुझ्नु पर्छ- आफू संलग्न पत्रकारिता क्षेत्रमा पनि विसंगति र विद्रुपता हुन सक्छन् । यतिकै आधारमा पत्रकार साथीहरू आत्तिनु पर्ने र अभियन्ता आरकेलाई जेल हाल्नु पर्ने म देख्दिन । ऊ अपराधी होइन, समाज सुधारको लागि लड्ने मान्छे हो”, कवि भूपीनले समाजिक सञ्जालमा लेखेका छन् । ।



























































Discussion about this post