काठमाडौं: पर्यटन ऐन, २०३५ परिमार्जन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४५ वर्ष पुरानो पर्यटन ऐन परिमार्जन गर्ने प्रक्रिया सुरू गरेको हो ।
मन्त्रिपरिषद्ले २६ असारमा ऐन परिमार्जन गरी संघीय पर्यटन विधेयक तर्जुमा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको हुनाले मन्त्रालयले विधेयक निर्माणको काम सुरु गरेको मन्त्री सुदन किराँतीले जानकारी दिएका छन् ।
हाल कार्यान्वयनमा रहेको पर्यटन ऐन २०३५ लाई परिमार्जन गरी पर्यटन क्षेत्रमा विकसित नवीन विषयलाई कानुनमा समावेश गरी नेपालको पर्यटन क्षेत्रलाई सामाजिक र आर्थिक विकासको महत्वपूर्ण आधार बनाउने उद्देश्यसहित नयाँ ऐनको विधेयक निर्माण प्रक्रिया अगाडि बढेको मन्त्रालयले जनाएको छ ।
यस विधेयकका लागि व्यवसायी, पेशागत संघ संस्था, विज्ञ, अनुसन्धानकर्ताबाट सरकारले सुझाव मागेको छ । ३० दिन भित्र मन्त्रालयमा नयाँ ऐनका लागि सुझाव पठाउन सकिने मन्त्रालयले उल्लेख गरेको छ । आगामी विधेयकले तीनवटै तहका सरकारबाट पर्यटन प्रवर्द्धन गर्ने योगदानसमेतलाई समट्ने तयारी गरेको छ ।



























































Discussion about this post