काठमाडौंदेखि केवल ८० किलोमिटरको दूरीमा रहेको पाँचपोखरी सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउपालिकामा अवस्थित छ । पुर्वमा जुगल, पश्चिमा हेलम्वु गाउँपालिका उत्तर तर्फ रसुवा र लाङटाङ राष्ट्रिय निकुञ्ज साथै दक्षिण तर्फ मेलम्ची नगरपालिकाको बिचमा रहेको यस गाउँपालिकाको वडा नं ३ मा पर्ने पाँचपोखरी लाङटाङ राष्ट्रिय निकुन्जअन्तर्गत पर्दछ ।
नामबाटै अनुमान गर्न सकिने पाँचपोखरीमा सूर्यकुण्ड, नागकुण्ड, सरस्वतीकुण्ड, भैरव कुण्ड र गणेश कुण्ड गरी पाँचवटा पोखरी रहेका छन् । नेपालमा पाँचपोखरी नाम गरेका धेरै स्थानहरू छन् तर यहाँ पाँचवटै पोखरी स्पष्ट रूपमा देख्न सकिन्छ । पोखरी रहेको ठाउँबाट करिब आधा घण्टा माथि भ्यू प्वाइन्ट रहेको छ । उक्त भ्यू प्वाइन्टबाट पाँचवटै पोखरी र उत्तरपट्टिका लाक्पा दोर्जे, फुर्वी छ्याछु, जुगल हिम श्रृंखलाका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।
पाँचपोखरी पदयात्रा पदयात्राप्रेमीका लागि छोटो र रमाइलो गन्तव्य बन्न सक्छ । यो पदयात्रा मनसुनमा पनि जान सकिने पदयात्रा मध्ये एक हो । मनसुन बाहेक अन्य समयमा पनि जान सकिन्छ । छिम्ती नजिकै रहेको प्राकृतिक र मानव निर्मित खोलाले पाँचपोखरी पुग्ने जो कोहीलाई पनि हौस्याउछ । चट्टान नै चट्टानले बनेको बाटो हुँदै बीच बीचमा आउने खोला र जंगली फूलहरू नियाल्दै पाँचपोखरी जाने पदयात्रा एकदमै रमणीय छ । फाल्गुनमा गयो भने अझ तीन चार किसिमका गुराँसको साक्षी बस्न पाइन्छ ।
मनसुनमा पाँचपोखरी क्षेत्रमै जंगली फूलहरूले ढकमक्क ढाकिएको हुन्छ । पोखरीबाट भ्यू प्वाइन्ट जाँदा फूलै फूलको बाटो हिड्नुपर्छ जसले यात्रामा मादकता भरिदिन्छ । जनैपूर्णिमामा तीर्थयात्रीहरूको ठूलो भिड लाग्छ । यस पदयात्रामा पदयात्रीहरू हराउने झुक्किने सम्भावना निकै कम छ । बाटोमा खाना बस्नलाई उति साह्रो समस्या हुँदैन तरपनि छ्याप्छ्याप्ती पनि होटेलहरू छैनन् । बाटोमा पर्ने टुप्पी डाँडा, ताङ्कु र नोश्यामपाटी पनि बसिरहुँ लाग्ने जस्ता ठाउँ छन् । काठमाडौंबाट निकै नजिक भएर पनि अझै ओझेलमा परेको गन्तव्य भन्दा अतिशयोक्ति हुँदैन ।
कसरी जाने ?
काठमाडौंको जाेरपाटीबाट वा कोटेश्वर छिम्ती जाने गाडीमा करिब ५ देखि ६ घण्टामा वा छिम्ति पुगिन्छ । छिम्तीमा खाना खाएर पदयात्रा सुरु गर्न सकिन्छ । छिम्तीबाट करीब चार घण्टामा टुप्पीडाँडा पुगेर बस्न सकिन्छ । बिहानै खाजा खाएर टुप्पी डाँडाबाट निस्केपछि चोकर डाँडामा खाना खाएर नोश्यामपाटी हुँदै साँझसम्म पाँचपोखरी पुग्न सकिन्छ । पाँचपोखरीमा बास बस्नलाई समस्या हुँदैन ।
छोटकरीमा भन्नुपर्दा:
पहिलो दिन: काठमाडौं-छिम्ती-टुप्पीडाँडा
दोस्रो दिन: टुप्पीडाँडा-चोकर डाँडा-नोश्यामपाटी-पाँचपोखरी
तेस्रो दिन: पाँचपोखरी-छिम्ती
चौथो दिन: छिम्ती-काठमाडौं
खर्च कति लाग्छ ?
प्रति व्यक्ति ६ देखि सात हजार लाग्छ ।
के के बोक्ने ?
न्यानो लुगा, आवश्यक औषधि, पानी, ड्राइ फ्रुट्स, कोकाकोला, चकलेट, ट्रेकिङ स्टिक, मनसुनमा रेन कोट लगायतका सामग्री ।




























































Discussion about this post