पछिल्लो समय नेपालीहरूमा घुम्ने बानीको विकास हुनुका साथै पदयात्रा प्रति पनि रुची बढेको पाइन्छ । खासगरी, कोरोना माहामारी पश्चात् नेपालीहरूमा घुम्ने संस्कृतिको विकास भएको देख्न सकिन्छ । पदयात्रामा विशेषत: युवाहरू बढी आकर्षित देखिन्छन् । पदयात्रा ठाउँ विशेष हेरेर जुनसुकै मौसममा जान सकिन्छ । सामान्यतया कुनै पनि ठाउँ अवलोकन गर्न, घुम्न, डुल्न हवाई तथा बस यातायात प्रयोग गरेर जान सकिन्छ । तर, कुनै गन्तव्य यस्ता हुन्छ जहाँ बस तथा हवाई यातायातको पहुँच हुँदैन । हामी हिडेरै त्यस्ता गन्तव्यमा पुग्नुपर्ने हुन्छ । कुनै पदयात्राको गन्तव्यमा हेलिकप्टर तथा खच्चडमार्फत पनि पुग्न सकिने अवस्था हुन सक्छ । यद्यपि, पछिल्लो समय त्यस्तो अवस्थामा पनि पर्यटकहरूले पदयात्रा नै रोजेको पाइन्छ ।
नेपालमा चर्चामा आएका र नआएका विभिन्न पदमार्गहरू रहेका छन् । यस्तै मध्येको पदयात्रीमाझ त्यति नपुगेको पदमार्ग हो कोरी पदमार्ग । कोरी पदमार्ग मनसुन समयमा जान सकिने पदमार्ग हो ।
कहाँ अवस्थित छ : कास्कीको मादी गाउँपालिका –१ मा पर्ने कोरी ट्रेक (पदयात्रा) ३८ सय मिटर उचाइमा छ । कोरी हिमाल हैन, हिमाली डाँडा हो ।
कहिले जाने : कोरी पदयात्रा मनसुनको समयमा गर्न उपयुक्त हुन्छ ।
कसरी जाने: यो काठमाडौंदेखि पोखरा, सिकलेस हुँदै जान सकिन्छ । पहिलो दिन काठमाडौंदेखि पोखरा पुगी कौखोलाबाट जीप चढेर सिक्लेस पुग्न सकिन्छ । दोस्रो दिन सिकलेसदेखि तसा खर्क पुग्न सकिन्छ । हिड्न सक्ने मान्छे सिक्लेसबाट तसा हुँदै एकै दिनमा कोरी पुग्न सक्छ । तर, बिस्तारै रमाइलो गर्दै जाउ भन्ने विचार लिएर हिड्नेले एकदिन तसामा वास बसेर अर्को दिन कोरी डाँडा पुग्न सकिन्छ । यसरी, मादीको सिक्लेस गाउँबाट बिचमा एक वास बसेर जम्मा दुई दिनको हिँडाईमा कोरी डाँडा पुगिन्छ । कोरीमा बासको लागि चारवटा होटेल रहेका छन् ।
सिक्लेसबाट तसाखर्क (तसा) हुँदै या सिक्ले बाट हुगु हुँदै जाने दुई विकल्पमा एक रोज्न सकिन्छ । दुई दर्जन बढीका घर–बास अनि दर्जन बढी होटेल भएको सिक्लेस गाउँमा पाहुनालाइ बसोबासको खासै समस्या छैन । कोरी र सिक्लेसको बिचमा रहेको तसामा एउटा मात्र होटेल छ भने उता हुगुमा तीनवटा होटेल छन । त्यसैले पदयात्रीले बासको व्यवस्था मिलाएर मात्र हिँड्नु पर्छ । सिक्लेसबाट हुगु र तसा लगभग ६ घण्टाको हाराहारीमा पुगिने गन्तव्य हुन तर तसाबाट भन्दा हुगुबाट कोरी पुग्न दुई–तीन घण्टा बढी हिड्नु पर्छ । त्यसैले हुगुको विकल्प पदयात्रीलाई त्यति उपयुक्त नहुन सक्छ ।
के के लैजाने: रेनकोट, न्यानो लुगा, लाइटर, टर्च लाइट, पावर बैंक, पानी, प्राथमिक उपचार सामग्री, लठ्ठी र ड्राइ फ्रुट्स, कोक र अन्य आवश्यक सामाग्री ।
के देख्न सकिन्छ: यहाँ अन्नपूर्ण, माछापुच्छ्रे, फिस्टेल, गौरीशंकरलगायतका हिमाललाई नजिकबाट देख्न सकिन्छ । यो पदमार्गमा भेडीगोठ र चौरीगोठ देख्न पाइन्छ । यो आन्तरिक पर्यटकलाई लक्षित गरेर बनाइएको पदमार्ग पनि हो । मनसुनका बेला यो पदमार्गमा यात्रा गर्दा विभिन्न रङका फूल फुलेको देख्न सकिन्छ । फूलको दृश्य मात्रै होइन, सिकलेसको स्थानीय गुरुङ संस्कृतिलाई पनि नियाल्न सकिन्छ । यात्राका लागि जम्मा पाँच दिन समय छुट्याउँदा हुन्छ ।
दुई दिनमा १२ घण्टा बढी हिँड्नुपर्ने यो ट्रेक त्यति सहज पनि छैन् । तर जब कोरी डाँडा पुगिन्छ, तलबाट मर्दी हिमाल, धवलागिरि, माछापुछ्रे, अन्नपूर्ण–२, अन्नपूर्ण–४, लम्जुङ हिमाल लगायतका हिम श्रृखलाले एकै साथ नजिकैबाट अंकमाल गर्दा सबै थकान शुन्य तुल्य हुन्छ । साँझ सुर्यास्त हुँदा र बिहान सुर्योदय हुँदाको सुनौलो हिमाल आफ्नै आँखामा कैद गर्न सकिन्छ ।




























































Discussion about this post